सिमली छायामा बसी भरिया लामो सास फेरेको,
उमेर भइसक्यो असी झन् ठूलो दु:खले घेरेको ।
यस्ता दु:खी–दरिद्रका गीत गाउने, अहिलेसम्म संगीत बजारको ग्ल्यामरबाट टाढै रहेका र धेरैले सम्मानपूर्वक हेर्ने नेपाली गायक हुन्, जीवन शर्मा । उनी समर्थित पार्टी चोइटिँदै सानो हुँदै गयो, चोइटाहरू कालान्तरमा दैत्याकार बने, उनैले प्रशिक्षित गरेका कलाकार युद्धमा गीत गाउँदै नचाउँदै हिँडे, तर उनको दिनदशा बदलिएको छैन ।
इन्जिनियर बन्ने दुर्घटनाबाट जोगिएको अनुभव गर्ने जीवन शर्मा सधैँ हली, ज्यामी, भरिया, गोठाला, र दु:खीहरूको गीत लेख्न र गाउन मन पराउँछन् । आफ्नो पेसाप्रति अत्यन्तै गौरव गर्छन् । कुनै बेला अहिलेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै राजनीति गरेका जीवनलाई ‘आफूले जनताका लागि जति दिएँ, मन्त्री-प्रधानमन्त्री भएका समकालीनहरूले दिन सकेनन्’ भन्ने लाग्छ । भन्छन्, ‘उनीहरूले के दिए र जनताका लागि ?’
जनताको गीत गाउँदै जाँदा जनतासँगै नाच्ने र गाउने मात्र होइन, रुनै थालेपछि जीवन शर्मालाई लाग्दो रहेछ - ‘मैले साँच्चै जनताको आत्माको आवाज गाइरहेको छु ।’ त्यसैले गाउँदा पाएको सन्तुष्टि उनले अन्त कतै पाउने आशा गरेका पनि छैनन् । समाजका दमन, उत्पीडन र जनताको समस्यालाई गीत बनाएर गाउँदा बिछट्टै आनन्द मान्छन् । जीवनले ०३२ सालदेखि गीत गाउन लागेका हुन् । अहिलेसम्म उनका पाँच सय जति गीत रेकर्ड भइसकेका छन् । पहिलोपटक गीत रेकर्ड भएको क्षण यसरी सम्झन्छन् उनी– ‘प्रसव पीडामा छटपटिएकी कुनै महिला बच्चाको जन्मसँगै जति हलुंगो महसुस गर्छिन्, त्यस्तै भएको थियो मलाई, मनै चंगा भएको थियो ।’
उनको पहिलो रेकर्ड भएको गीत हो– ‘स्वागत छ हाम्रो, देशको निम्ति जीउ ज्यान दिने वीरहरूलाई ।’ जो रक्तिम परिवारको ब्यानर अन्तर्गत भाग १ को पहिलो गीत थियो । तर, सबैभन्दा बढी बजेको गीत ‘सिमली छायामा बसी, भरिया लामो सास फेरेको’ नै हो । उनी पनि त्यसै भन्छन् । यो गीत पनि त्यही एल्बममा रहेको छ ।
कुनै बेला नेपालका कम्युनिस्ट पार्टीहरूमा जीवनका गीत गाउने/बजाउने गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्ने गर्थ्यो । कसैले यो मसालको मान्छे भएकाले उसको गीत बजाउनु हुँदैन भन्थे त कसैले उसको गीत गाएर उसलाई नजिक्याउनुपर्छ भन्थे मान्यता राख्थे । उनी भन्छन्– ‘अहिले त्यस्तो तिक्तता छैन । पार्टी–पार्टीको बीचमा पानी बाराबारको अवस्थामा त्यस्तो थियो । त्यो राजनीतिक संकीर्णता ०६३ यता आएर कम भयो । त्यसयता रक्तिम परिवारको गीत सबैले गाएको हुनाले अब त्यस्तो तिक्तता नहोला ।’
एसएलसी पास गर्दासम्म उनमा गीत गाएर जिन्दगी अगाडि बढाउने विचार थिएन, बरु इन्जिनियर बनौँला भन्ने थियो । ०३४ सालमा काठमाडौं छिरेर पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस भर्ना पनि भए । तर, छत्तीस सालको विद्यार्थी आन्दोलनले एकाएक उनको मन बदलिदियो । इन्जिनियर बन्नुभन्दा गीत संगीतको माध्यमबाट नेपाली जनतालाई ‘मुक्ति’ को चेतना फैलाउनुपर्छ भन्नेमा दृढ भए । अब आएर इन्जिनियरिङ यात्रा ठप्पै रोकियो । उनी सुनाउँछन् - ‘इन्जिनियर बनेको भए भौतिक सुख त मसँग हुन्थ्यो होला तर आज पाएको जस्तो आत्म सन्तुष्टि भने हुन्नथ्यो । धन कमाउने बाटो त्यागेर मैले दु:खी जनताको सेवा गर्ने बाटो अपनाएँ । त्यसले मलाई आनन्द दिएको छ ।’
जीवनलाई गीत लेख्दा जनताले भोगेका र आफूले देखेका कुरा आफैँ आउँछन् । लेख्छु नभन्दा पनि मस्तिष्कमा जनताको पीडा र वेदना सलबलाउन थालिहाल्छन् । आखिर कसरी फुर्छन् त उनलाई यस्ता शब्द ? भन्छन् ‘चेतनाको कुरा हो, सर्वहारा वर्गको मुक्तिप्रतिको अभिलाषाले जन्माई दिन्छ ।’ दु:ख पाएका मान्छे देख्नासाथ उनीहरूको पीडा अभिव्यक्त गर्ने सान्दर्भिक शब्दहरू उनको दिमागमा फुर्न थालिहाल्दा रहेछन् ।
जीवन भन्छन्– ‘सबै गीत बनाउँछु भनेर बन्दैनन् । गाउँबेँसी, डाँडापाखा घुम्दाघुम्दै र हिँड्दै गर्दा पनि बन्न सक्छन् । बसमा यात्रा गर्दा पनि मैले धैरै गीत सम्झेर त्यसलाई लिपिबद्ध गरेको छु । झ्यालको छेउमा बस्न पायो कि बाहिर देखिने दृश्यले मेरो मन तरंगिँदै जान्छ । ए जीवन, अहिल्यै गीत लेखिहाल् है † भनेर मस्तिष्कमा दबाब गरेजस्तो हुन्छ । यसरी धेरैपटक यात्रासँगै गीत पनि पूरा भएका छन् ।’
कहिलेकाहीँ सपनामा पनि गीतका हरफहरू फररर…. आउँदा रहेछन् । उनको भनाइमा सपनामा आएका ती हरफमध्ये कतिपय ब्युँझदा मेटिइसकेका हुन्छन् । जति भेट्छन् त्यसलाई विपनामा कपीमा उतार्छन् अनि गाउँछन् जनताको बीचमा ।
जनवादी कित्तामा अब्बलमध्ये एक ठानिएका यी गायकलाई बेलाबेला पार्टीको नजिक भएको भनेर आरोप लाग्ने गरेको छ । जीवन भन्छन्– ‘कोही कुनै पार्टीको नजिक हुन सक्छ, कसैले कुनै पार्टीमा आस्था राख्न सक्छ, कोही कुनै विचारबाट प्रभावित हुन सक्छ । त्यो व्यक्तिको रुचिको कुरा हो । सिर्जनात्मक क्षमता अलग पाटो हो । सिर्जनशील व्यक्तिले कुनै पार्टीतिर आस्था राख्नु हुन्न भन्ने छैन । सिर्जनशीलतालाई यसरी कुण्ठित गरिनु हुन्न ।’ त्यसो त विचार मिल्ने पार्टीहरूले उनलाई आफ्नो पार्टीमा आइदिए हुन्थ्यो भन्छन्, उनी त्यसलाई अन्यथा मान्ने पक्षमा छैनन्, स्वभाविकै हो भन्ने ठान्छन् ।
सिमली छायाँमा बसी गीत उनले बनाउँछु भन्ने प्लानिङ गरेर बनाएका होइनन् रे † भन्छन्– ‘यसको पछाडि पनि एउटा कथा छ । ०३८–०३९ तिर हो, पर्वत र स्याङ्जाको सिमानामा पर्ने उकालो उक्लँदै गर्दा एउटा असी–पचासी वर्षका भरिया देखें । उनीसँग लामै कुराकानी भो । माथि डाँडामा पुगेर यसो सोचेँ– यो त एउटा गीत बन्न सक्छ † गीतमा व्यक्त भएका शब्द तिनै भरियाको वास्तविक जीवनको भोगाइबाट आएका हुन् । मनमा उर्लेको भाव कोर्दा गीत बन्यो, त्यति बेला बनाउँ भनेर लागेको भए भरियाले भनेका धैरै कुराबाट धैरै गीत पनि बन्न सक्थे ।’
अहिलेको आधुनिक संगीतको युगमा उनका गीत सबैलाई उत्तिकै नरुच्न सक्छ । गीत गाएर गाडी खरिद गर्दै सपिङ जानेहरू पनि छन् । जीवन भन्छन्– ‘एउटा पुस्ता अहिले शिलाकी जवानी, ओइ ला रे ओइ ला रेजस्ता गीतमा झुम्छ । शोषित पीडितका गीत गाउनेहरू कहिले कोठा भाडा तिर्न नसक्ने अवस्थामा हुन्छन्, कहिले छोराछोरीको फिस तिर्न नसक्ने अवस्थामा हुन्छन्, कहिले चामल किन्न नसक्ने अवस्थामा हुन्छन् ।’
उनको निष्कर्ष छ – ‘नेपालमा दु:खी, गरिब जनताको गीत गाएर बाँच्न सक्ने अवस्था छैन । ठूला पुँजीपति वर्गका लागि नबनेको हुनाले त्यो वर्गले जनगीतलाई प्रोत्साहन गर्दैनन् । यस्ता गीत मन पराउनेहरू श्रम गरेर खाने दु:खी सर्वसाधारणहरूले हो तर उनीहरू आफ्ना जिन्दगीको दु:ख पीडा गाउने गीतहरूलाई प्रोत्साहन गर्ने अवस्थामा छैन । तर, जतिसुकै असजिलोका बीचमा पनि जनताको गीत गाउँदा बडो आनन्द आउँछ ।’
जीवनले सधैँ हजारौँ जनताको बीचमा र ठुल्ठूला स्टेजमा मात्र गीत गाएनन्, बाजाको नाममा एउटा गितार लिएर जनताका मझेरी, पिँढी, आँगन, दैलो, गोठजस्ता ठाउँमा लुकी लुकी दस, बीस, पचासजनाको बीचमा पनि गाउँथे । सुनाउँछन्– ‘गीत गाउँदै जाँदा मान्छे रुँदै जान्थे, आँसु खसाल्दै जान्थे । उठ है भरिया ज्यामी, यो देश त खरानी भइसक्यो भन्दा जुरुक्क–जुरुक्क उठ्थे । ०४६ को परिवर्तनसँगै मेरा डायरी र मनका गीतहरू एल्बममा आए र घरघरमा बज्न थाले ।’
जीवन शर्मा जब कुनै मञ्चमा सिमली छायामा गाउन थाल्छन्, सुन्ने मानिस त्यही उकालोमा भेटेको भरियाजस्तै स्वत:स्फूर्त नाच्न थाल्छन् । बूढाहरू, थोत्रा टोपी लगाएका भरियाहरू, ज्यामीहरू नाच्दा उनी भावनात्मक यात्रामा त्यही उकालोमा पुगेका हुन्छन् । उनी आफ्नो यात्रालाई गरिमामय यात्रा ठान्छन् । भन्छन्– ‘यसलाई रकम असुल्ने उपाय पनि बनाउन सकिन्थ्यो होला ! पाँच सात सय गीतलाई आर्थिक समृद्धि र व्यक्तिगत जीवनका अभिलाषाहरूका लागि कहीँ–कतै रकममा रूपान्तरण गर्न सकिन्थ्यो होला । तर, त्यसो गर्दा गीत संगीतको अपमान हुन्छ । मुलुकमा जतिसुकै परिवर्तन भए पनि गीत र संगीतको महत्त्व कहिल्यै घट्ने छैन ।’
जीवन शर्मा वर्तमान राजनीतिक परिस्थितिबाट सन्तुष्ट छैनन् । उनको निचोड छ– पार्टीहरूले हिजो गरिब दु:खीको कुरा गरे, मीठो सपना बाँडे, तर जब केही गर्नुपर्ने अवस्थामा आए, सत्ता र कुर्सीबाहेक केही पनि देखेनन् । मुख्य दलहरू आफ्नो सिद्धान्तबाट विचलित भएका छन् । कुनै बेला कम्युनिस्ट पार्टीहरू जनताका बीचमा सिधै जान सक्ने अवस्थामा नहुँदा जनतालाई जागृत गराउने माध्यम गीत संगीत नै थियो ।
उकुसमुकुस अवस्थामा रहेको समाजलाई चेतना दिने काम जनवादी गीत संगीतले गर्थ्यो ।’ त्यसै सिलसिलामा भूमिगत अवस्थामा गीत गाउँदा जीवन पनि धेरै पटक प्रहरीको खोरमा पुगेका छन्, सास्ती खेपेका छन् । ‘कहिले हाम्रो जिन्दगी ढुंगाको सिरानी’ जस्ता गीत भाग्दाभाग्दै ओढारमा बसेको समयमा फुरेको गीत हो । आफूले हिँडेको बाटोमा काँडैकाँडा छ भन्ने सत्य उनले नबुझेका होइनन्, तर पनि गरिब दु:खीले मुक्ति पाउलान्, गरिबको राज आउला भनेर उनी आनन्दित हुन्छन् ।
- सौर्य दैनिक



