विश्वकै ठूलोमध्येको एक इन्टरनेट कम्पनी याहु र सामाजिक संजाल फेसबुकबीच बौद्धिक सम्पत्ति अधिकार (प्याटेन्ट राइट) को विवाद अन्त्य गर्ने सहमति भएको छ । साथै यी दुइ कम्पनी विवाद अन्त्य गरी विज्ञापनमा साझेदारी गर्ने कुरामा समेत सहमत भएका छन् ।
आफ्ना विभिन्न १० वटा बौद्धिक सम्पत्ति फेसबुकले चोरेको भन्दै गएको मार्चमा याहुले मुद्धा हालेको थियो । आफुविरुद्ध याहु लागेपछि फेसबुकले पनि आइबिएमबाट ७ सय ५० वटा प्याटेन्ट खरीद गरी उल्टै याहु विरुद्ध मुद्धा हालेको छ । त्यस्तै माइक्रोसफ्टबाट पनि केही प्याटेन्ट खरीद गरी याहु विरुद्धको लडाइँमा फेसबुक उत्रिएपछि यी दुइ कम्पनीबीच प्याटेन्ट विवाद चुलिएको थियो ।
तर एकाएक प्याटेन्ट विवाद सामसुम पार्ने सहमति गर्दै याहु र फेसबुकले नयाँ आविष्कार दुबैले उपयोग गर्न सक्ने र भविष्यमा समेत सहकार्य गर्ने टुंगोमा पुगेका छन् । फेसबुकसँग विवाद हल गरी सहमति गर्नुमा याहुका अन्तरिम कार्यकारी रोस लेभिन्सनको मुख्य हात रहेको बताइन्छ । विवाद हल गर्न याहुका हाकिम अघि सरेपछि फेसबुकका अधिकारीहरुपनि सकारात्मक ढंगले वार्तामा बसेका थिए ।
विवाद हल भएपछि त्यसले इन्टरनेटको दुनियामा नयाँ आयाम थपेको दुबै कम्पनीका अधिकारीहरुको दाबी छ । यो सफलताले याहुका अन्तरिम कार्यकारी लेभिन्सनलाई पूर्ण कार्यकारी बन्न दहि्रलो मौका जुरेको बताइन्छ ।
- एजेन्सी


