काठमाडौं, असार २७ । गएको वर्ष भदौ दोस्रो सातासम्म हेर्दा 'मिनि ट्रक'जस्तो देखिने, आकर्षणबिहीन एउटा गाडीको चर्चा एकाएक चुलियो । राष्ट्रिय/ अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा त्यही गाडीका तस्बिर देखिए ।
प्रधानमन्त्री नियुक्त भएकै दिन बाबुराम भट्टराईले चढ्ने घोषणा गरेपछि 'हुलास मुस्ताङ म्याक्स' गाडीबारे जताततै चर्चा चलेको थियो । कमैमात्र नेपालीले चाल पाएको स्वदेशी गाडी 'मुस्ताङ म्याक्स' को चर्चा त्यसपछिका केही महिनासम्म चलिरह्यो ।
प्रधानमन्त्रीले चढेपछि यसको चर्चामात्र चलेन, व्यापार पनि बढ्यो । भट्टराईले प्रयोग गर्न थालेको १० महिनाभित्र यसको बिक्री र उत्पादन ह्वात्तै बढेको छ । यो क्रम रोकिएको छैन । अझ गति लिँदैछ ।
मुस्ताङ म्याक्स उत्पादक गोल्छा समूहको हुलास मोटर्सका अनुसार अहिले यसको माग पहिलेभन्दा दोब्बर छ । उत्पादन सुरु भएको केही वर्षसम्म राम्रो व्यपार गर्न नसकेको कम्पनीले माग बढेपछि उत्पादन क्षमतै बढाएको छ ।
'पहिलेभन्दा क्षमता पनि बढाउँदै लगेका छौं,' कम्पनीका महाप्रबन्धक प्रफुल्लचन्द्र दासले मंगलबार नागरिकसँग भने, 'अहिले हामीलाई सबैतिरका डिलरले गाडी मागेको माग्यै छन् ।' उनका अनुसार हाल कम्पनीले क्षमता सुधार गरी मासिक १५ गाडी बनाउन सक्ने भएको छ । पहिले महिनामा तीनदेखि पाँचवटासम्म मात्र उत्पादन गर्न सक्थ्यो ।
'मुस्ताङ म्याक्स'को माग मात्र बढेको छैन, कम्पनीले आफ्नो वितरण सञ्जाललाई पनि विस्तार गर्दैछ । भट्टराईले चढ्न थालेपछि नै कम्पनीले राजधानी र दाङमा नयाँ डिलर नियुक्त गरेको छ । ग्रामिण भेगमा मात्र बिक्री हुने यो गाडी राजधानी भित्रैबाट पनि बिक्री भइरहेको छ ।
'माग धेरै छ, कम्पनीले माग अनुसार गाडी दिने अवस्था छैन,' सात महिनाअघि राजधानीको कुलेश्वरमा 'मुस्ताङ म्याक्स'को सोरुम खोलेका श्रीराम अटोमोबाइल्सका अध्यक्ष विजयराम कर्माचार्यले भने । उनका अनुसार हालसम्म उनले राजधानीबाट ९ वटा मुस्ताङ गाडी बिक्री गरिसकेका छन् । थप ३ वटा बुकिङ भइसके पनि ग्राहकलाई आपूर्ति गर्न सकिएको छैन ।
'कम्पनीको क्षमता थोरै छ,' कर्माचार्यले भने, 'ग्राहकले चाहेका बेलामा पनि हामीले गाडी दिन सक्दैनौ ।' पहिले गाडीको कारोबार नगरेका कर्माचार्यले स्वदेशी गाडी बिक्री गर्न सुरु गरेका हुन् । 'हाम्रो अनुभवले मुस्ताङको बजार राम्रो छ भन्ने देखाएको छ,' कर्माचार्यले भने, 'प्रचारप्रसार हुन नसकेको रहेछ ।'
कर्माचार्यका अनुसार 'मुस्ताङ म्याक्स'का पिकअप, डबल क्याप र जीपमध्ये जीपको बिक्री राम्रो छ । धेरैले १३ सिट क्षमताको जीप मन पराएका छन् । कम्पनीले 'मुस्ताङ म्याक्स' भन्दा अघि बजारमा ल्याएको 'मुस्ताङ भिटु' को बिक्री भने खासै बढेको छैन ।
महाप्रबन्धक दासका अनुसार अहिले नेपालभरका डिलरमार्फत मासिक १० वटा जति गाडी बिक्री भइरहेका छन् । गत भदौअघि भने कम्पनीले मासिक २-३ वटा गाडी समेत बिक्री सकेको थिएन । पहिले देखिएका कमी कमजोरीलाई सुधार गर्दै बनाइएकाले नयाँ मोडेलको माग बढ्दो छ ।
'हामीले पहिलेकोभन्दा लुक्स पनि परिवर्तनको कोसिसमा छौ,' दासले भने, 'यसलाई कसरी ग्राहकमैत्री बनाउने भन्नेमा हामी लागिरहेका छौ ।' विशेषगरि पहाडी भु-भागका लागि उपयुक्त मानिएको 'मुस्ताङ म्याक्स'ले गत वर्ष भदौपछि गति लिएको दासले बताए ।
स्वदेशी उत्पादन भएपनि सरकारले कर धेरै लगाएकाले कम्पनीले सस्तोमा गाडी उत्पादन गर्न नसकेको सञ्चालकहरुको दाबी छ । कम्पनीले अहिले आयात गर्ने पार्टस् र कच्चा पदार्थमा २५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्दै आएको छ । उत्पादनपछि ४५ प्रतिशत अन्तशुल्क प्रतिशत १३ प्रतिशत भ्याट पनि तिर्नुपर्छ । भ्याटबाहेक अरु कर हटाइए पनि अहिलेको भन्दा निक्कै सस्तो पर्ने र ग्राहकले मुस्ताङ रोज्ने कम्पनीको दाबी छ ।
अहिले फुल अप्सन 'मुस्ताङ म्याक्स' १३ सिटे गाडीको मूल्य करिब २२ लाख पर्छ । फुल अप्सन गाडी नकिन्नेका लागि कम्पनीले 'मुस्ताङ म्याक्स' १३ सिटे जीप १७ लाख २५ हजार रुपैयाँमा दिन्छ । यसैगरी ११ सिटे जीपको भने १६ लाख ७५ हजार रुपैयाँ पर्छ । डलबक्याबको १७ लाख १० हजार र सिङ्गल क्याबको भने १३ लाख ८८ हजार रुपैयाँ पर्छ ।
चीनमा बनेको जिआई रिजर्भ टर्क इन्जिन प्रयोग गरिएको यो गाडीको क्षमता २ हजार ५ सय ४० सिसी छ । किसानका लागि आवश्यक पावर कार्टबाट उत्पादन सुरु हुलास मोटर्सले भारत र चीनमा बनेका पार्टस् र केही नेपालकै जोडेर गाडी बनाउने गरेको छ । कम्पनीका अनुसार करिब ६० प्रतिशत विदेशी र ४० प्रतिशत स्वदेशी कच्चापदार्थ 'मुस्ताङ म्याक्स'मा प्रयोग भएको छ ।
कम्पनीले अन्तशुल्क नलाग्दा वर्षको १ सय वटा भन्दा बढी गाडी उत्पादन गर्ने गरेकोमा अन्तशुल्क लगाएपछि भने वर्षको ३८ वटासम्ममा झरेको थियो । टु ह्विल र फोर ह्विल दुवै विशेषतायुक्त गाडी कम्पनीले उत्पादन गरेको छ। यो गाडी १ लिटर डिजेलमा १० किलोमिटरसम्म कुद्न सक्छ । कम्पनीले विराटनगर, पोखरा, नारायणगढ, हेटौडा, वुटवल, दाङ, महेन्द्रनगर, धनगढी, बनेपा र काठमाडौंका डिलरमार्फत गाडी बेच्दै आएको छ ।
- नागरिक दैनिक


