रोम, ३० असार (एजेन्सी) । इटालियन फरवार्ड मारियो बालोटेलीकी गर्भवती पूर्वप्रेमिका राफेलाले आफू डिएनए परीक्षणलाई तयार रहेको बताएकी छन्। आफ्नो गर्भमा बालोटोलीकै बच्चा रहेको दाबी गर्दै आएकी मोडेल एवम् टिभी प्रस्तोता राफेलाले बालोटेलीलाई खुलापत्र लेख्दै यस्तो बताएकी हुन्।
पैसा कमाउन गर्भवती भएको हल्ला गरेको भन्ने बालोटेलीको आरोपलाई २७ वर्षीया उनले खण्डन गरेकी छन्। राफेलाले भावुक हुँदै पत्रमार्फत आफूले अन्तर्वार्ता र फोटोका लागि कुनै पारिश्रमिक नलिएको प्रस्ट पारेकी छन्।
गत अप्रिलमा यी दुईले एक वर्ष लामो प्रेम सम्बन्ध तोडे पनि दुई साताअघि राफेलाले आफ्नो पेटमा ४ महिनाको बच्चा रहेको र त्यो बच्चा बालोटेलीको भएको खुलासा गरेकी थिइन्।
राफेलाको खुलासाबाट २१ वर्षे बालोटेलीले सुरुआतमा खुसियाली व्यक्त गरेको समाचार प्रकाशित भएको थियो। तर पछि म्यानचेस्टर सिटीका फरवार्डले आफू त्यो बच्चाको बाबु भए नभएको पत्ता लगाउन परीक्षण गर्नुपर्ने बताएका थिए।
इटालीको एक साप्ताहिकमा प्रकाशित चिठ्ठीमा राफेलाले बालोटेलीले चाहे सम्बन्ध पुनः सुधार हुनसक्ने बताएकी छन्। उनले बालोटेलीप्रति आफ्नो झुकाव अझै रहेको बताइन्।
उनले लेखेकी छिन्, 'मैले मनैदेखि यो बच्चा चाहेकी थिएँ। किनकि यो कुनै असावधानीले आएको होइन। यो दुई जनाको प्रेमको नतिजा हो,' उनले अगाडि भनेकी छन्, 'म तिमीसँग कुरा गर्न सक्ने एकमात्र माध्यम यही पत्र हो। म डिएनए परीक्षण गर्न खुसी साथ तयार छु। युरो कपका दौरान तिमीले पठाएको सन्देश अझै मसँग सुरक्षित छ, जसमा तिमीले लेखेका छौं- मैले दिएको खबरले तिमी खुसी छौं।'
कारणवश सम्बन्ध तोडिए पनि अहिले जिम्मेवार पिताका रूपमा व्यवहार गर्न समेत बालोटेलीलाई उनले आग्रह गरेकी छन्। 'तिमीलाई थाहा छ म कहाँ छु भनेर। तिम्रो, हाम्रो बच्चाबारे तिमीसँग कुरा गर्न म सधै तयार छु,' उनले लेखेकी छन्, 'मैले जे गरें त्यो सब पैसाका लागि हो भन्ने तिम्रो आरोपले मलाई साह्रै दुःखित तुल्याएको छ। यो अन्याय हो। म एउटी आमा हुँ। त्यसकारण मैले यो पत्र लेखेकी हुँ।'
'प्रिय मारियो, मलाई भन्ने मौका देऊ। मैले कुनै पनि अन्तर्वार्ताका लागि पैसा लिएको छैन। मैले तिम्रो र मेरो सम्बन्धबारे कसैसँग केही भनेको छैन। तर म गर्भवती छु। मेरो पेट हरेक दिन बढिरहेको छ। यो लुकाउन सजिलो पनि छैन,' उनको पत्रमा उल्लेख छ।
राफेला गर्भवती भएको समाचार सार्वजनिक भएदेखि बालोटेली रात्रि क्लबमा समय बिताउन थालेका छन्। सिटीले अन्य खेलाडीलाई भन्दा केही लामो छुट्टी दिएका कारण उनी इटाली र फ्रान्सका रात्रि क्लबहरूमा मस्त हुँदै आइरहेका छन्।
डिएनए परीक्षण गर्नुपर्ने बालोटेलीको पछिल्लो भनाइ सार्वजनिक भएपछि राफेलाका दाजु फ्रान्सिकोले आफ्नो गर्भवती बहिनीप्रति बालाटोलीले सम्मान नगरेको आरोप लगाएका छन्।


