काठमाडौं, २२ असार । नेपाली कामदारका लागि रोजगारीको आकर्षक गन्तव्य मानिएको इजरायलमा कामदार पठाउने प्रक्रिया अन्योलमा परेको छ । रोजगारी खुलेको नौ महिना बितिसक्दा पनि संस्थागत रूपमा आधा दर्जनभन्दा बढी कामदार जान नसकेपछि थप अन्योलता बढेको हो ।
अढाइ वर्षदेखि नेपाली कामदार लिन बन्द गरेको इजरायलले करिब नौ महिनाअघि पुन: रोजगारी खुलाए पनि झन्झटिलो भिसा प्रक्रियाका कारण मागअनुसार कामदार पठाउन नसकेपछि रोजगार अवसर अन्योलमै परेको छ । आकर्षक श्रम गन्तव्य इजरायलले नेपाली कामदारलाई केयरटेकरमा रोजगारी खुलाएको हो । तर, प्रक्रिया बढी झन्झटिलो भएकाले कामदार पठाउन नसक्दा समस्या आएको व्यवसायीको भनाइ छ ।
श्रम रोजगार मन्त्रालयले समेत इजरायल रोजगारीका विषयमा प्रभावकारी काम अघि नबढाएकाले कामदार जान नसकेको व्यवसायीको भनाइ छ । त्यसोत मन्त्रालयका अधिकारी भिसा प्रक्रिया बढी झन्झटिलो भएकाले कामदार पठाउ अप्ठेरो भएको स्वीकार गर्छन् । मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले इजरायलमा कामदार पठाउन नसक्नुमा भिसा प्रक्रियाको जटिलता रहेको बताए । सरकारले निर्धारण गरेको लागत खर्चमा कामदार पठाउने म्यानपावर एजेन्सीसमेत सन्तुष्ट नभएकाले पनि लामो अवधिमा ६ जानाभन्दा कामदार इजरायल जान नसकेको उनको भनाइ छ ।
त्यहाँ कामदार पठाउन सरकारले ७५ हजार रुपियाँ लागत खर्च निर्धारण गरेको छ । तर व्यवसायीले भने सरकारले तोकेको मापदण्डअनुसार व्यवसायीले कामदार पठाउन नसक्दा समस्या आएको बताउँदै आएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कमल तामाङले सरकारी मापदण्डकै कारण कामदार जाने प्रक्रिया प्रभावकारी नभएको बताए । लागत खर्च र अन्य मापदण्ड समयसापेक्ष नभएको उनको भनाइ छ ।
वैदेशिक रोजगार विभागका अनुसार इजरायलमा कामदार पठाउन एक सय ८२ म्यानपावर कम्पनीलाई सूचीकृत गरिएको छ । तर, हालसम्म कामदार पठाउने म्यानपावर कम्पनीको संख्या आधा दर्जनभन्दा कम छ ।
तर सरकारले भने कामदार पठाउने विषयमा सरोकारवालासँग आवश्यक छलफल भइरहेको जनाउँदै आएको छ । लामो समय बितिसक्दा पनि इजरायल जाने कामदार संख्या न्यून रहेकाले दूतावासमार्फत आवश्यक समन्वय र छलफल भइरहेको मन्त्रालयका अधिकारी बताउँछन् । यसअघि गएका कामदारलाई घरेलु कामदार तालिम लिनुपर्ने व्यवस्था भए पनि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सिफारिसमा विभागले अन्तिम श्रम स्वीकृति दिएको जनाएको छ । त्यहाँ केयरटेकरमा जाने कामदारले भाषा, घरेलु कामसम्बन्धी तालिमको तयारी गर्नुपर्ने पनि विभागले जनाएको छ ।
यसअघि म्यानपावर कम्पनीले बढी रकम लिएको तथा भाषा, संस्कृति र तालिम नदिई कामदार पठाएको भन्दै इजरायलले नेपाली कामदारका लागि रोक लगाएको थियो । पछिल्लो समयमा सरकार आफंैले लागत खर्च निर्धारण गर्ने जनाएपछि इजरायलले नेपाली कामदार लिन सहमत भएको हो । सरकारले इजरायल जाने कामदारसँग म्यानपावर एजेन्सीले अधिकत हवाई टिकटबाहेक ७५ हजार रुपियाँसम्म लिनपाउने व्यवस्था गरेको छ । व्यवसायीले भने दुई लाख रुपियाँभन्दा कम लागतमा कामदार पठाउन नसकिने जनाउँदै आएका छन् । इजरायलमा केयरटेकरमा जाने कामदारले न्यूनतम ८४ हजार रुपियाँ पारिश्रमिक पाउने सरकारले जनाएको छ ।
- सौर्य दैनिक


