पाँचथर, १९ असार । नेपालबाट पस्मिना, तयारी कपडा र हस्तकला लगायतका सामान त अमेरिका जाने गरेको सवैलाई थाहा छ । तर अमेरिकामा रहेका कुकुरहरुलाई खाना पनि नेपालबाटै जाने गरेको छ । अमेरिकीहरुले घरपालुवा कुकुरका लागि पाँचथरबाट बर्षेनी दूधबाट उत्पादित छुर्पी लैजान्छन् । प्राङबुङ र मेमेङबाट उनीहरुले सात बर्षयता आहार लगिरहेका छन् ।
सन २००६ मा प्राङबुङको भैंसे पोखरीमा खुलेको दुग्ध प्रशोधन उद्योगले छुर्पी अमेरिका पठाउँदै आएको छ । अमेरिकामा माग बढेपछि उद्योगले अहिले पाङबुङ र मेमेङमा उद्योगका १० वटा शाखा पनि बिस्तार गरेको छ ।
स्थानिय सुकेथाम दुग्ध उत्पादक सहकारी संस्थाले उद्योगको व्यवस्थापन गर्दै आएको छ । अमेरिकी व्यापारीले कुकुरको आहाराकै लागि भन्दै प्रत्येक महिना तीन हजार किलो छुर्पी माग गरिरहेको संस्थाका सदस्य नरबहादुर खपांगीले बताएका छन् । माग अनुसार पठाउन सकिएको छैन, उनले भने उद्योगको संख्या बढाए पनि आधा पनि माग पुरा गर्न सकिएको छैन । उद्योगले अहिले मासिक ८० किलो छुर्पी अमेरिका पठाउने गरेको छ ।
- नागरिक



