Sunday, July 8, 2012

जनजातिको पार्टी एमाओवादीलाई सौता !

काठमाण्डौ, २५ असार । बिभिन्न दलका आदिवासी जनजातिलाई उक्साएर त्यहाँबाट बिद्रोह गराउने रणनीतिमा लागेको माओवादी जनजातिले छुट्टै पार्टी बनाउने तयारी थालेपछि पछि हटेको छ ।

माओवादी नेताहरुले जस्तोसुकै सहयोग गर्ने भन्दै कांग्रेस र एमालेमा रहेका जनजातिलाई बिद्रोह गर्न उक्साएपनि अहिले नयाँ पार्टी गठनको तयारीमा आइपुग्दा माओवादी नेताहरु पछि हटेका छन् ।

यसरी माओवादी पछि हट्नुमा जनजातिको वेग्लै पार्टी बने आफ्नो भोट बैंक घट्ने त्रास माओवादीमा रहेको बताइएको छ । आदिवासी जनजातिको हालै काठमाण्डौंमा सम्पन्न दुई दिने भेलाले तीन दलको बिकल्पमा नयाँ शक्ति बनाउने उदघोष गरेपछि एकीकृत माओवादीमा खैलाबैला भएको समाचारमा उल्लेख छ । 

माओवादी नेताहरुले नयाँ जनजाति पार्टीमा सहभागीता नजनाउने भए आफुहरुले पनि बिद्रोह नगर्ने कांग्रेस एमालेका जनजाति नेताहरुले बताएका छन् । त्यसैले पनि एमाले एमाले उपाध्यक्ष अशोक राई लगायतका नेताहरु जनजातिको नयाँ पार्टी गठन अभियानमा सक्रियताका साथ लागेका छैनन् ।

यसैवीच नयाँ पार्टी गठनको अभ्यासमा लागेका जनजाति नेताहरुले पार्टीको बिधान, घोषणापत्र, सांगठनिक संरचना लगायतको खाका तयार गरिरहेका छन् । एमालेका पूर्व सभासद् पासाङ शेर्पाले खाका बनाइरहेका छन भने उनलाई माओवादीका लोकेन्द्र बिष्ट, कांग्रेसका इन्द्रबहादुर राई र नेकपा एकीकृतका परि थापा लगायतले सहयोग गरिरहेका छन् ।
- साँघु साप्ताहिक

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।