काठमाण्डौं, २० असार । इजरायलले कृषि क्षेत्रमा काम गर्ने ८० हजार नेपाली कामदार लिने भएको छ । ‘दुई देशका सरकारले यसका लागि संयन्त्र बनाईरहेका छन्,’ इजरायली राजदूत खनान गोडेरले भनेका छन् । कामदारलाई पाँच बर्षको प्रबेशाज्ञा (भिसा) दिईने उनले बताएका छन् । ‘यो नेपाली कामदारका लागि आकर्षक अवसर हुनेछ’ गोडेरले भने ।
यस अघि इजरायलले नेपालबाट घरेलु कामदार लैजाने गरेको थियो । प्रक्रियामा अनियमितता भएपछि इजरायलले नेपाली कामदार लिन रोक लगाएको थियो । यो समस्या सम्बोधन गर्न नेपालले निर्देशिका तयार गर्ने प्रतिबद्धता जनाएको थियो ।
दुई बर्ष यता इजरायल नेपाली कामदारका लागि फुकुवा भए पनि प्रक्रिया सहज नभएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिएका छन् ।
‘कामदार पठाउने प्रक्रियामा अनियमितता भएपछि हामीले बीचमा यो प्रक्रियानै रोक्नुपर्यो,’ राजदूत गोडेरले भने ‘म्यानपावर कम्पनीले माग नै नभएको ठाउँमा पनि जथाभावी कामदार पठाई दिदा समस्या भएको थियो ।’
इजरायल घरेलु कामदारको रुपमा नेपालीको श्रम गन्तव्य हो । त्यहाँ अहिले ८ हजार नेपाली कामदार रहेका छन् ।
- कारोबार दैनिक


