काठमाण्डौं, २४ असार । नेपाल प्रहरीभित्र ४० प्रतिशत महिलाले सहकर्मीबाटै यौन दुरव्यवहार खेप्नुपरेको सर्वेक्षण प्रतिवेदनले प्रहरीभित्रै खैलाबैला मच्चिएको छ । बाहिर हुने यौन दुर्व्यवहारका घटना झन बढी आईरहन्छन् प्रहरीकहाँ । यसले समाजमा यौन अपराध बढ्दो अवस्थामा रहेको देखाउँछ ।
यसको समाधानको विकल्प सरकारले यौन व्यवसायलाई मान्यता दिनुपर्ने मध्यपश्चिमकी प्रहरी प्रमुख डीआईजी पार्वती थापा मगरको धारणा रहेको छ । ‘रेडलाईट एरिया नतोक्दा सम्म यौन अपराध नियन्त्रण गरेर हुने देखिदैन्,’ उनी भन्छिन्- ‘त्यसो भए आवश्यकता हुनेहरु रेडलाईट एरियातिर जान्छन्, समाजमा अपराध घट्छ ।’
प्रहरीले जतिसुकै नियन्त्रण गर्न खोजे पनि कुनै न कुनै रुपमा यौन व्यवसाय चलिरहेको उनी बताउँछिन् । शरीरमाथि आफ्नै अधिकारको माग भइरहेका बेला राज्य संयन्त्रले नियन्त्रण गर्न नसक्ने उनको दाबी छ ।
यौन इच्छा हुनेले विकल्प नपाउँदा अपराधतिर लाग्छ’ उनले भनिन् ‘यौन व्यवसाय नियन्त्रण गर्छु भन्नु ढोका थुनेर विरालो कुट्नु हो । निकास नपाएपछि त घाँटी मै झुण्डिन्छ नि ।’
विकसित र छिमेकी मुलुकको अनुभवका आधारमा पनि रेडलाईट एरियाको आवश्यकता देखिएको उनको तर्करहेको छ ।
- कान्तिपुर दैनिक


