Friday, July 6, 2012

विश्व चर्चित व्यक्तिका सुसाइड नोट

एकथरी मान्छे सुसाइड गर्नेलाई कायरको संज्ञा दिन्छन् भने अर्काथरी मान्छे भने सुसाइड गर्ने नै सबैभन्दा बहादुर हो भन्छन् । तर, जे-जे भए पनि नेपाली समाजमा पनि पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढेको छ । पछिल्लो समय नेपाली अभिनेत्री जेसिका खड्काले पनि यो समाजमा आफू बाँच्न नसकेको भन्दै झुन्डिएर आत्महत्या गरिन् । जे होस्, नेपाली समाजमा कोही मायाप्रेममा धोका पाएर त कोही समाजप्रतिको वितृष्णाले आत्महत्या गरिरहेका छन् । आत्महत्या गर्नेलाई कायर भन्नेहरू उसले समस्यासँग जुध्न सकेन भन्छन्, आत्महत्या नै कुनै समस्याको समाधान होइन भन्ने तर्क उनीहरूको छ । तर, आत्महत्या गर्नेलाई सपोर्ट गर्नेहरू आफ्नो शरीर नै मार्न सक्नु बहादुरी हो भन्छन् । उनीहरू आत्महत्या गरेर समस्याको समाधान नभए तापनि कतिपय अवस्थामा आफ्नो अस्तित्व बचाउन सकिने भन्छन् ।

झन्, उनीहरू आत्महत्या गर्नेले मर्ने वेला लेखेका सुसाइड नोटको उदाहरण दिँदै लामो समयसम्म पनि मनलाई एउटै कुरामा केन्दि्रत गर्न सकेकाले उसले राम्रो बाटो रोजेको भन्छन् । तर, जे होस्, आत्महत्या गर्नेले अन्तिममा लेखेका केही शब्दले भने आत्महत्याको कारण बताउन सक्छ । नेपाली समाजमा प्रेममा धोका पाएर आत्महत्या गर्ने प्रायले लेखेका हुन्छन्, ‘पि्रय, यसपालि तिम्रो हुन नसकेपनि अर्को जुनीमा पक्कै तिम्रो हुनेछु ।’ यहाँनेर प्रश्न उब्जन्छ, आखिर यही जुनी पनि बाँच्न नचाहने मान्छे किन फेरि अर्को जन्म लिन चाहन्छ ?

तर, आत्महत्याको शृंखला भने नेपालमा मात्र नभएर विश्वभर नै देखिन्छ । विभिन्न देशका मानिसले आत्महत्या गरेको समाचार हामी बारम्बार सुन्दै आइरहेका छौँ । आत्महत्या गर्नेमा आममानिस मात्र भने छैनन् । केही प्रसिद्ध सेलिब्रेटी तथा साहित्यकार र चर्चित राजनीतिक व्यक्तिले पनि आत्महत्या गरेका छन् । तर, उनीहरूको आत्महत्याभन्दा पनि बढी त उनीहरूले अन्तिम समयमा लेखेर छाडेको सुसाइड नोटलाई महत्त्वका साथ हेरिन्छ । आखिर मर्नेवेलामा के के लेखे त विश्वप्रसिद्ध व्यक्तिहरूले ?

यसरी आत्महत्या गर्नेमा विश्वप्रसिद्ध लेखिका भर्जिनिया उल्फ पनि पर्छिन् । भनिन्छ, भर्जिनियाले बारम्बार आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । तर, उनको आत्महत्याको अन्तिम निर्णय भने लामै योजनाबाट बनेको थियो भन्ने आँकलन गर्न सकिन्छ । आफ्नो अन्तिम उपन्यास ‘बिटि्वन द याक्ट्स’को पाण्डुलिपि तयार भइसकेपछि उनी अति निराश भइन् । त्यस्तै, भयानक तनाव उनले पहिला नै दोस्रो विश्वयुद्धमा आफ्नो घर भत्किँदा पनि बेहोर्नुपरेको बताइन्छ । सन् १९४१ मार्च २८ मा बिहानै उल्फले आफ्नो ओभरकोट लगाइन् र ओभरकोटका खल्ती ढुंगाले भरिन् । त्यसपछि उनी आत्महत्याका लागि घरनजिकैको आउस नदीतिर लागिन् र आफैँलाई डुबाएर मारिन् । उनको शव भने झन्डै एक महिनापछि मात्र भेटिएको थियो । उनको शव पाएपछि उनले आफू मर्नुअघि आफ्नो श्रीमान्का लागि एउटा सुसाइड नोट लेखेर छाडेकी थाहा हुन आयो ।


उल्फले आफ्नो सुसाइड नोटमा लेखेकी थिइन्, ‘पि्रय, मलाई थाहा छ, म फेरि पूरै पागल भएकी छु । मलाई लाग्दैन कि अब पनि हामी अभावको समय बिताउन सक्छौँ । र, यसपालि भने मैले आफूमा सुधार हुने र यो तनावबाट बाहिर आउनेबारेे सोचेकी पनि छैन । म केही शक्तिशाली आवाजहरू सुनिरहेको छु र मलाई लागिरहेको छ, ती आवाजले गर्दा म केही कुरामा पनि केन्दि्रत हुन सक्नेछैन । तर, म भाग्यमानी भने हुँ । मलाई यस्तो खुसियाली दिएको र आजसम्म बाँच्न सहयोग गरेकाले म सधैँ तपाईंप्रति ऋणी हुनेछु । यस्तो अवस्थामा आउन्जेल म बाँच्छु भन्ने त मैले कल्पनासम्म पनि गरेकी थिइनँ । मेरो यो निर्णयले तपाईंको जीवनमा अझै धेरै कष्ट आउनेछ भन्ने पनि मलाई लागेको छ । यदि कसैले मलाई आजसम्म बचाउन सकेको छ भने त्यो केवल तपाईंले मात्रै हो । मलाई थाहा छ, मलाई तपाईंले दिएको सबै खुसी संसारले बुझेको छ । तर, म तपाईंलाई अरू थप बिगार्न चाहन्नँ । मलाई लाग्दैन, यो संसारमा सबैभन्दा खुसी दुईजनामा तपाईं र मबाहेक अरू कोही हुनसक्छ ।’

उल्फजस्तै आत्महत्या गर्ने अर्का विश्वप्रसिद्ध व्यक्ति हिटलर हुन् । जर्मनीका प्रसिद्ध शासक तथा नाजी पार्टीका संस्थापक हिटलरले अन्तिम समयमा आफ्नो पराजयको महसुस गरेपछि आत्महत्या नै रोजे । उनले आत्महत्या रोज्नुको कारण भने आफ्नो पराजय अवश्य नै हुनेछ भनेर पहिले नै आँकलन गर्नु हो । जब आफ्नो देश पराजय भोग्दै छ भन्ने हिटलरलाई उनका सैन्य प्रमुखले जानकारी दिए, तब उनले आत्महत्याको कुनै विकल्प देखेनन् । सन् १९४५ को अपि्रल ३० का दिन उनले आत्महत्या गरे । उनले आत्महत्या गरेको केही क्षणमै उनकी श्रीमतीले पनि आत्महत्या गरिन् । आफ्नै पेस्तोलले टाउकोमा गोली हानेर मर्ने निर्णय हिटलरले गरेका थिए । उता, उनकी श्रीमतीले भने अत्यन्तै विषालु रसायन पोटासियम साइनाइड खाएर आत्महत्या गरिन् । हिटलरले आफू मर्नुभन्दा एकदिन अगाडि आफ्नो अन्तिम इच्छा एउटा कागजमा लेखेका थिए । त्यसैलाई नै उनको सुसाइड नोटका रूपमा लिइन्छ । उनले सो कागजमा लेखेका थिए, ‘म र मेरी श्रीमतीले अब कुनै विकल्प नदेखेपछि र यो तनावबाट मुक्त हुनका लागि मृत्यु नै रोज्यौँ । हामी कुनै पनि तबरले अबको जीवनलाई अगाडि लैजान सक्छौँ भन्ने लाग्दैन । यसका लागि एउटा मरेतुल्य जीवन बाँच्नुभन्दा मृत्यु नै राम्रो विकल्प हो । म चाहन्छु, म मरेपछि मलाई त्यो ठाउँमा लगेर जलाइयोस्, जहाँ मैले मेरो जीवनको अधिकांश समय व्यतित गरेको छु । १२ वर्षसम्म मैले मेरा जनताको सेवा गर्ने अवसर पाएँ र म चाहन्छु, मेरो अवसान पनि त्यहीँ होस्, जहाँ सबैभन्दा बढी समय मैले बिताएँ ।’

विश्व संगीत बजारमा निर्भाना ब्यान्डको स्थापना गरेर तहल्का मच्चाएका कर्ट कोबिनले पनि आत्महत्या नै रोजे । आज पनि विश्वभर उनका फ्यान उनको आत्महत्याको प्रसंग आउनेबित्तिकै अत्यन्तै निराश हुन्छन् । उनको आत्महत्याले त सो समयमा विश्वलाई नै चकित बनाएको थियो । उनी जीवित हुँदा उनले गाएको गीत मात्र विश्वभर प्रसिद्ध भएन, उनले आत्महत्या गर्नुअगाडि लेखेको सुसाइड नोट पनि विश्वभर चर्चित बन्यो । उनले आफ्नो सुसाइड नोटमा बाल्यकालका साथीलाई सम्बोधन गरेका थिए । सो नोटबाट उनले आफ्नी श्रीमती कोट्नी लब र छोरी रयन्स बिन कोबिनलाई पनि सन्देश पठाएका थिए । उनले आफ्नी श्रीमतीलाई लेखेका थिए, ‘मैले जुन निर्णय गरँे, त्यो अत्यन्तै नराम्रो हो भन्ने मलाई थाहा छ । कोट्नी, तिमीले हाम्री प्यारी छोरीका लागि पनि संघर्ष गर्नुपर्छ । तिमीले मविनाको उनको जीवनलाई अझै सुन्दर बनाउन सहयोग गर्नुपर्छ । म तिमीलाई माया गर्छु, अत्यन्तै माया गर्छु ।’

अर्का हलिउडका चर्चित अभिनेता जर्ज स्यान्डर्सले पनि सन् १९७२मा जीवनको अन्तिम विकल्पका रूपमा आत्महत्यालाई नै रोजे । उनले अभिनयका कारण थुप्रै पुरस्कार पनि जितेका थिए । तर, उनको आत्महत्याभन्दा पनि उनले लेखेको सुसाइड नोट धेरै चर्चित भयो । मर्नुअगाडि उनले लेखेर छाडेका थिए, ‘मेरो प्यारो संसार, आजसम्म पनि तँैले मलाई दिएको आश्रयको मैले कुनै गुन तिर्न सकेको छैन, तर आजकै दिनदेखि म तँलाई छोडेर जाँदै छु । मलाई लाग्यो, मैले धेरै नै समय यहाँ बिताएँ । अब मेरा दुविधाहरूले तँलाई तनाव हुनेवाला छैन, गुड लक ।’

तर, विश्वमा आत्महत्या गरेर तहल्का मच्चाउने विश्वप्रसिद्ध मानिसहरू भने यी मात्र होइनन् । मर्नेवेलामा उनीहरूले लेखेका अन्तिम शब्दहरूलाई पनि उत्तिकै महत्त्वका साथ हेरिन्छ । यो क्रममा फिल्म निर्देशक जेम्स ह्वेल, फ्रान्सेली लेखक निकोलस च्यामफोर्ट, रक सिंगर विन्डी ओ विलियम्स, आविष्कारक जर्ज इस्टम्यान, हलिउड अभिनेत्री क्लारा ब्यानडिकलगायत पर्दछन् । (एजेन्सी)

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।