Thursday, July 5, 2012

नेपाली मानव तस्करको जालमा सयौं नेपालीको बिचल्ली भयो बेल्जियममा

सुदाम लम्साल 
नेपालीहरु किन यति सजिलै ठगिएका, बेचिएका ? बेल्जियममा केही ठगहरु मिलेर नाटकीय शैलीमा सयौं नेपालीलाई ठगेर बिचल्ली पारेका छन् । अहिले कुनै नेपाली बिमानस्थलमा बिचल्ली परेका छन् । कोही  पुर्पुरोमा हात राखेर बसेका छन् । बेल्जियम निवासी टी ठग हुन् सुदाम लम्साल । गर्मीको छुट्टी पाउने यूरोपको चलन अनुसार यस छुट्टीमा नेपाल जान लागेका सयौं नेपालीलाई बिमानको नक्कली टिकट दिएर ठगेका हुन् लम्सालले ।

उनले त्यहाँका नेपालीलाई ‘ल गर्मीको टिकटमा अहिले छूट लागेको छ, केही दिनमै पैसा दिए पाइन्छ, नत्र गुम्छ यो मौका’ भन्दै पैसा लिएर सबैलाई टिकट त दिए । तर त्यो टिकट बिमान कम्पनीबाट कन्फर्म गरिएको नभएर कम्प्युटरबाट नाम, मिति, उडानको समय र तालिका मात्रै मिलाएर दिएको नक्कली थियो । सुदाम लम्सालले यो गर्मी बिदामा नेपाली ठग्ने योजना केही महिना अघिदेखि नै बनाएका रहेछन् । उनले ‘ल अहिले छुट दिएको छ, अहिले किनेनौ भने पछि त ह्वात्तै बढ्छ टिकट” भन्दै सयौं नेपालीलाई लोभ्याएको रहेछ । जसरी पनि नेपाल जानु पर्ने छ भन्दै नेपालीले हतारिएर लम्साललाई पैसा तिरे ।

चोर लम्सालले बेल्जियमको प्रशासनबाट बच्न कस्तो जुक्ति निकाल्यो भने नेपालीबाट लिएको पैसा चेक र कुनै पनि बैंक कार्डबाट नलिने । सीधै नगदमा लिँदा पैसा लिए दिएको लिखित प्रमाण नहुने भएकाले उसले त्यसो गरेको थियो । “यस्तो सस्तो टिकट बेच्नु छ कहाँ कार्ड र चेकबाट लिने ? नगदमा मात्रै लिन्छु” भन्दै उसले सबै टिकटको नगद माग्यो । नेपालीहरुले पनि ठगको चलाखी बुझ्न नसकेर 'हो'मा 'हो' लगाउँदै खुरुखुरु नगदमै तिरे ।

नेपालीहरुले बैंकबाट पैसा झिक्दै बुझाउँदै गरे । त्यसको लागि उसले केही सहयोगी, दलाल र समर्थकहरुको सञ्जाल बनाएको थियो । उनलाई साथ दिने अन्य केही दलाल पनि थिए । तिनले ग्राहकलाई लोभ्याउने, फकाउने, सम्पर्क गर्ने, टिकट दिने र अलि अलि कमिशन खाने काम गरेका थिए । त्यस्तै मध्ये एक थिए भनिन्छ मनकाजी गुरुङ जसले प्रति टिकट १० यूरो खाने गरेको त्यहाँका नेपालीहरुले बताएका छन् । स्रोतका अनुसार हाल यी काजी चाहिँ फरार भएर नेदरल्याण्ड गएर बसेका छन् ।

तिनले बिमान टिकट निश्चित गरेको कम्प्युटर स्लिप हातमा थमाए । नेपालीहरुको बिमान कम्पनीसित सोधपुछ गर्नुपर्ला भनेर शंकासम्म गरेनन् । बिमानस्थल पुगेर स्लिप देखाउँदा त बिमानस्थलकै कर्मचारीहरु जिल्ल परे । “यो टिकट बुक भएकै छैन, यो त खाली कम्प्युटरमा आफैंले बनाएको स्लिप हो” भनिदिएपछि नेपालीहरु खङरङ्गै भएका थिए । उनीहरुको ओंठ तालु सुक्यो । बिचल्लीमा परे । त्यहाँबाट तत्कालै ठग सुदाम लम्साललाई फोन गरे । तर उसको मोबाईलको स्विच अफ थियो । उसले कुनै पनि प्रतिक्रियाको जवाफ नदिएपछि बल्ल नेपालीले मेसो पाए “चोरले हामीलाई खुब जाल रचेर फसाएको रहेछ”। ठगिनेमा क्षेत्री समाज बेल्जियमका अध्यक्ष ओम थापा पनि छन् ।

नेपालीहरु कतिसम्म हुस्सु भएछन् भने सुदाम दहालले “लौ है आज त अन्तिम दिन हो छुटमा पाइने” भन्दै जोसित जतिमा सकिन्छ त्यति पैसो असुलेको रहेछ । कसैलाइ जम्मा ६ सय ५०, कसैलाई ७०० यूरो, कसैसित ७५० र कोहिले ८०० सम्म तिरे । तर नेपालीले एकै दिनको टिकटको र एउटै दिन यसरी फरक दरमा पैसो तिर्दा पनि भेउ पाएनन् वा भेउ पाएरपनि “मलाई सस्तो दिएछ” भन्दै मख्ख परेर चुपचाप बसे ।

आफ्ना परिवारसित भेटघाट र छुट्टी मनाउन जाने भएकाले कुनै त एकै परिवारका ६, ७ जना समेत ठगिएका छन् । कसैको न्वारन, पास्नी, बिवाह, घरजग्गा किनबेच लगायतका अनेक कामको मेसो मिलाएका नेपाली छन् । एकातिर पैसो छैन । अर्कोतिर बिमान टिकट हातमा छैन । तुरुन्तै किन्दा झन महँगो पर्ने र सिट नपाउने समस्या पनि भएकाले धेरै नेपाली छटपटिएका छन् । कोही पुर्पुरोमा हात राखेर बिलौना गरिरहेका छन् । कोही सकीनसकी ऋण लिएर तत्कालै टिकट लिएर नेपाल उडेका छन् । बेल्जियममा प्रशासनमार्फत  कारवाही गरौं पनि सजिलो छैन । किनभने उनीहरुले रकम नगदमा दिएकाले कुनै प्रमाण छैन ।

लम्सालले एकै दिन, एउटै कम्पनी र उडानमा ४० जना जति नेपालीलाई टिकट भिडाएर ठगे । त्यति मात्रै होइन उसले एक हप्ता भित्रमै बेल्जियन, नेपाली, फिलिपिनी र अन्य मुलुकका करिब दुई सयबाट त्यसैगरी करिब २ लाख युरो ठगी गरे । त्यो रकम पचाउन उनले बेल्जियन प्रशासनसित कम्पनी डुबेको स्पष्टिकरण  दिएर बच्ने दाउ गरेको बुझिएको छ । किनभने बिमानस्थलमा आफू ठगिएको पक्का भएपछि केही नेपालीले त्यहीको प्रहरी समक्ष उजूरी दिएका थिए । तर प्रहरीले भने उनीहरुले टिकट काटेको कम्पनीनै खारेज भैसकेको बताएको थियो ।

को हुन् सुदाम लम्साल ?

उनले आफूलाई ठूलै ब्यापारी र एनआरएनको हस्ती भनेर गफ दिने गर्छन् । एनआरएनको काठमाडौंमा भएको गत अन्तर्राष्ट्रिय सम्मेलनमा उनले पनि आईसीसी सदस्यमा निर्वाचन लडेका थिए । तर उनी पराजित भएका थिए । उनी हाल जनसंपर्क समिति बेल्जियमका सदस्य हुन् । जनसंपर्क समिति नेपाली कांग्रेसको भात्री संगठन हो । उनका दुईवटा रेस्टुरेन्ट रहेको अपुस्ट खबर पनि आएको छ । 

केही पत्रकार ठगलाई चोख्याउने ध्याउन्नमा

यस्तो ठगको समाचारलाई साहसिक तरिकाले लेख्नु त परै जाओस् । बेल्जियमका केही पत्रकार नामधारीहरु भने ठगलाई चोख्याउने ध्याउन्नमा लागेका छन् । तिनले ठगको भनाईलाई बढाइचढाइ गरेर स्थान दिइरहेका छन् । उता पीडितका पीडाको भने तिनले कुनै स्थान दिएका छैनन् । मानव तस्कर र यी ठगहरुलाई चोख्याउने तरिकाले प्रतिक्रियाहरु दिने दुस्साहस गरिरहेका छन् । बेल्जियमका मानव तस्करबारे अघिल्ला पटक नेपालप्लस, नेपालबाट प्रकाशित हुने केही दैनिक र साप्ताहिकलगायत अन्य अनलाईनले साहसिक तरिकाले लेख्दा पनि बेल्जियमका यी स्वनामधारी पत्रकारहरुले टी मानव तस्करलाई त्यसैगरी चोख्याउने ढंगले प्रतिक्रिया हालिरहेका थिए ।
- नेपाल प्लसबाट 

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।