Tuesday, July 10, 2012

एक महिनाअघि गोली लागेका अखिल नेताको मृत्यु

काठमाण्डौ, २६ असार २६  । गोली लागेर घाइते भएका अनेरास्ववियु अस्कल इकाई कमिटी उपाध्यक्ष वसन्त शाहीको १ महिनापछि उपचारकै क्रममा मृत्यु भएको छ । २५ बर्षीय शाहीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

गत जेठ २६ गते विहान नयाँबजारस्थित डेरामा पेस्तोल खेलाउने क्रममा घाँटीमा गोली लागी घाइते भएका उनलाई उपचारको लागि उक्त अस्पतालमा लगिएको थियो । घटनापछि पत्रकार सम्मेलन गर्दै प्रहरीले उनकै साथीले पेस्तोल खेलाउने (डेमो गर्ने) क्रममा चलेको अनुसन्धानबाट खुलेको बताएको थियो । 

घटनामा संलग्न अस्कल क्याम्पस इकाइ उपाध्यक्ष वीरबहादुर राउत र सदस्य मुकेश नेपालीलाई अखिलले निलम्बन गरेको छ । गोली हान्ने मुकेश खत्री भने फरार छन् । अमृत साइन्स कलेजका स्ववियु उपसभापति वीरबहादुर रावतको कोठामा मुकेश नेपाली र बसन्त शाहीसमेतलाई खत्रीले पेस्तोलमा गोली कसरी राख्ने, कसरी ताक्ने र कसरी चलाउने भन्दै सिकाउँदै गरेको अवस्थामा अकस्मात् गोली चलेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी जयबहादुर चन्दले पत्रकार सम्मेलनमा बताएका थिए । 

प्रहरीले गोली चलेको कोठामा मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल र तीनवटा प्रयोग नभएको गोली फेला पारेको थियो ।

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।