१० घर दलित परिवार विस्थापित
धादिङ, २३ असार । ‘हामी घरभित्र थियौं । गाउँका गैरदलितहरु आए र हाम्रो घरमा बाहिर जम्मा भए । उनीहरुले मलाई कुटे । मेरो श्रीमानलाई पनि कुटे । हामी ६ जना बालबालिका जोगाउन घरको ढोका थुनेर भित्र बस्यौं । हामीलाई मार्ने भन्ने हल्ला सुनेर बच्चाई घरमै छोडेर माथिल्लो तलाबाट फाल हालेर भाग्यौ र रातभर भिज्दै बारीमा लुक्यौं ।गाउँमा हाम्रो खोजी भइरहेको सुनेर प्रहरीकार्यालयमा आएका हौं । गैरदलितको आक्रमणबाट रातभर नाङ्गै भागेर ज्यान जोगाएकी विन्दा विकको भनाई हो यो ।
उनीमात्र हैन पिडा गाविस ५ मूलखर्कमा दलितहरुमाथि गैर दलितले आक्रमण गर्दा गाउँका १० घर दलित परिवार विस्थापित भएका छन् ।
स्थानिय नवराज सुनारले गाउँकै सम्झना सुवेदीसँग प्रेम विवाह गरेपछि परिवारका सदस्यहरुसहित गाउँका १० घरपरिवार दलितले गाउँ छोड्नु परेको पीडितहरले जिल्ला प्रशासन कार्यलयमा बताएका छन् । उनीहरुले शान्ति सुरक्षाका साथै आफ्नो घरमा स्वतन्त्र रुपमा बस्न पाउनुपर्ने भन्दै सुरुक्षा व्यवस्था मिलाईदिन आग्रह गरेका छन् ।
असार १९ गते बेलुका ७ बजेतिरबाट गैरदलित केटीलाई दलित केटाले बेपत्ता पारेको आरोमा गैरदलितहरुले दलित बस्तिमा आक्रमण शुरु गरेपछि गाउँनै आतंकित भएको छ ।
- नेपाल समाचारपत्र दैनिक
दाईजोमा साईकल नपाएपछि श्रीमतीको हत्या
यसैगरी दाईजोमा दिने कबोल गरिएको साईकल नपाएपछि बारा कुडवा ७ निवासी पुनम साहको हत्या भएको छ । २०६६ सालमा सामाजिक परम्पराअनुसार रामलाल साहसँग विवाह गरेकी पुनमको श्रीमान र ससुरा गणेश साह मिलेर हत्या गरेको उनका माइती पक्षले आरोप लगाएका छन् ।
जल्लाको दहियार १ मलहनी माईती भएकी पुनमका बाबु बैद्यनाथ साहले दाईजोमा साईकल दिने भनिएपनि दिन नसक्दा छोरीको हत्या गरिएको जानकारी गराएका छन् ।
साईकलसँगै दाईजोस्वरुप दिने भनिएको नगद ३० हजार रुपैयाँ दिन नसक्दा छोरी पुनमलाई श्रीमान र ससुराले मिलेर कुट्ने, शारिरीक र मानसिक यातना दिने गरेको बैद्यले बताएका छन् ।
यसअघि पनि रामलालले धर्मपुर निवासी लालमती साहसँग विवाह गरेको र उनको आठ बषिर्य छोरो रहेको छ । लालमतीको पनि दाईजोकै कारण हत्या गरिएको छ ।
- राजधानी दैनिक


