काठमाण्डौं, २३ असार । बच्चा साटिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार तनाव उत्पन्न भएको छ । प्रतिष्ठानमा प्रसुति सेवा लिएका दुई महिलाले जन्माएका शिशु साटिएपछि तनाव उत्पन्न भएको हो ।
प्रसूति वार्डमा भर्ना भएकी उदयपुर रामपुर ठोक्किला गाविसकी गोमा थापामगरले छोरी र धरान १७ की शर्मिला राईले छोरो जन्माएका थिए । तर, आफन्तलाई शिशु जिम्मा लगाउने बेलामा चिकित्सकले गोमाकी छोरी शर्मिलालाई र शर्मिलाको छोरा गोमालाई दिएपछि आफन्तहरु आक्रोसित भएका छन् ।
चिकित्सकले लापरबाही गरेकेा भन्दै दुबै सुत्केरीका आफन्तले विहान ४ बजे प्रतिष्ठानमा प्रदर्शन गरेका थिए । गोमाकी काकी सासू भीमाले अर्काको बच्चा लान कसैलाई मन नलाग्ने भन्दै, चिकित्सकको व्यवहार देखेर छक्क परेको बताईन् । यता शर्मिलाका श्रीमान रोसनले पनि चिकित्सकहरुले लापरबाही गर्दा आफ्नो बच्चा झण्डै गुमेको बताएका छन् । जन्मने वित्तिकै छोरा जन्मियो भनेका थिए पछि छोरी ल्याएर दिए भन्दै रोसनले पहिले जानकारी नदिएको भए आफ्नो सन्तान गुमेको गुनासो गरे ।
तनाव उत्पन्न भएपछि स्थिति नियन्त्रण बाहिर जाने भयले सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिएको थियो । प्रतिष्ठानका निर्देशक अरविन्दकुमार सिन्हाले भने यस विषयमा आफुले केही नबोल्ने बच्चा साटिएको विषयमा तपाईलाई जे थाहा छ त्यहि लेख्नुस् भन्नुभयो ।
- अन्नपूर्ण पोष्ट


