काठमाडौ, २ साउन । संविधानसभाको विघटनपछि चर्को राजनीतिक दबाब झेलिरहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिवेला चर्को पारिवारिक दबाबले पनि थिचिएका छन्। लुकिछिपी धार्मिक र भाग्यवादी कर्ममा पनि लाग्ने प्रचण्डका लागि यो बर्ष भाग्यले साथ दिएको छैन। भारतको सिलीगुडीतिर विहे भएकी छोरीको डिभोर्स र पार्टीका तत्कालीन उपाध्यक्ष मोहन बैद्य नेतृत्वमा एक तिहाई नेता कार्यकर्ताको राजनीतिक डिभोर्सको दबाब सहेका प्रचण्डले २५ असारमा एक्लो छोरो प्रकाशले विना मगर भगाइदिपछि अर्को तनाब झेल्नुपरेको छ। त्यतिले पनि भएन, प्रकाशले छाडेको भोलिपल्ट प्रचण्डले बुहारीतिरका सम्धीबाट अर्को दबाब खानुपरेको छ।
घटना २६ असारको हो। आफ्ना पति विनासागको संसर्गमा लागेको थाहा पाउनासाथ माइती घर पोखरा गएकी प्रकाश पत्नी सिर्जना त्रिपाठी प्रकाश बिना लिएर भागेको भोलिपल्ट बाबुसहित प्रचण्डनिवास लाजिम्पाटमा टुप्लुक्क आइपुगिन्। पारिवारिक स्रोतका अनुसार अरुवेला नातिमात्रै च्यापेर एक्लै पनि आउने गरेकी सिर्जनासँग सम्धी नै आएपछि दाहाल सशंकित हुने नै भए। भागेर सम्पर्क विहीन भएको छोरोको तनावमा रहेका प्रचण्डकहाँ छोरी ल्याइपुर्याएपछि सम्धीले 'छोरीलाई तलमाथि नहोस् नै' भनेका थिए।
'जे हुनु भइहाल्यो, छोरी हजुरहरुकै जिम्मा लगाउन आएको हुँ' सम्धीले प्रचण्डलाई भनेका थिए, 'मलाई हजुरहरुसँग पूर्ण विश्वास छ।' नातिको मुख हेरेर गम्भीर भएका सम्धीलाई प्रचण्डले पनि आश्वासन दिँदै भनेका थिए, 'हामी छँदैछौँ, तपाईँले कुनै चिन्ता गर्नुपर्दैन।' सम्धीले पटकपटक छोरी जिम्मा लगाउन आएको दोहोर्याउनुलाई प्रचण्ड परिवारले दबाबका रुपमा बुझेको छ। अहिले बुहारी प्रचण्ड निवासमै छन् भने प्रचण्डपत्नी सीताले पनि पहिलेजस्तै सहज व्यवहार गरेको बुझिएको छ।
यसैबीच, विना र प्रकाशको जोडी सिलीगुडीहुँदै रेलचढेर नयाँ दिल्ली पुगेको पत्ता लागेको छ। युद्धकालमा समेत बसेको हुनाले दिल्ली प्रकाशका लागि नौलो स्थान होइन। दिल्ली पुग्नासाथ उनीहरु प्रचण्डका छोरीपट्टिका सम्धी टीबी पाठकको सम्पर्कमा पुगेको बुझिएको छ। प्रचण्ड परिवारले पनि प्रकाश दिल्ली पुगेको खबर पाइसकेको छ। तर, प्रचण्ड परिवारले प्रकाश कहाँ र कस्तो अवस्थामा छ भन्ने वाहेक अरु केही पनि बिषयमा चासो दिएको छैन। पाठकमार्फत प्रचण्डले नेपाल नआउन प्रकाशलाई सल्लाह दिएको पनि पारिवारिक स्रोतले जनाएको छ। प्रचण्डले प्रकाशसँग बोल्न पनि चाहेका छैनन् तर उनकी पत्नी सीताले चाहिँ मोबाइलमा कुराकानीसमेत गरिसकेकी छिन्।


