Monday, July 2, 2012

जापानमा सत्तारुढ दलभित्र गम्भीर मतभेद

टोकियो, १९ असार । जापानको सत्तारुढ दलभित्र गम्भीर मतभेद देखिएको छ । मतभेदका कारण दलका ५० भन्दा बढी नेता तथा सांसदले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

जापानको सत्तारुढ दलका प्रभावशाली नेता इचिरो ओजावाले आफूसहित ५० भन्दा बढी नेता तथा सांसदले जापानको सत्तारुढ दल डेमोक्रेटिक पार्टी अफ जापान (डिपीजे) छोडेको घोषणा गरेका हुन् । उनले दल परित्याग गरेको जानकारी जापानका सञ्चारमाध्यमलाई दिई पार्टीका प्रमुख एवं प्रधानमन्त्री योसिहीको नोदासमक्ष पनि राजीनामा पत्र बुझाइसकेको समाचारमा जनाइएको छ । 

सत्तारुढ दल डिपिजेका ५२ जना सांसदले पार्टी छोडेको घोषणा गरेका छन् । ती सांसदले पनि प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएका छन् । राजीनामा बुझाउने सांसदमध्ये ४० जना सांसदको तल्लो सदन र १२ जना माथिल्लो सदनका सदस्य रहेको बताइएको छ ।

सरकारले बिक्री करको मात्रा बढाएपछि सत्तारुढ दलभित्र विवाद उत्पन्न भएको थियो । विवाद चुलिँदै गएपछि उनीहरूले पार्टी परित्याग गरेका हुन् ।

प्रधानमन्त्री नोदा र उनको दल डिपिजेका सदस्यबीच पार्टी नेताहरूको राजीनामापछि उत्पन्न समस्या कसरी समाधान गर्ने भन्ने विषयमा छलफल हुने भएको छ । राजीनामापछि प्रधानमन्त्री नोदाको पार्टीले ठूलो धक्का बेहोरेको विश्लेषकहरूले बताएका छन् । तर, सरकार ढल्ने सम्भावना भने नरहेको उनीहरूको जिकिर छ । 

गत साता कर बढाउन कानुन पारित गर्ने विषयमा विवाद उत्पन्न भएपछि सत्तारुढ दलका ५७ जना सांसदले विपक्षमा मतदान गरेका थिए । 
- एएफपी

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।