काठमाण्डौं, ३० असार । वैदेशिक रोजगार विभागले इराक, अफगानिस्तान लगायतका प्रतिबन्धित मुलुकमा कामदार लगेर अलपत्र बनाउने अथवा दिल्ली, दुवई नाकामा बिचल्ली बनाउने दलाल विरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ ।
पहिलो चरणमा मोटो रकम असुलेर नेपाली कामदारलाई बिचल्ली पार्ने एजेण्टहरुको नामावली तयार पारिएको र उनीहरुको स्थायी ठेगाना पूर्ण विवरण पत्ता लगाउने काम भईरहेको विभागले जनाएको छ ।
विभागका अनुसन्धान अधिकृत हरिसिंह धामीका अनुसार ती दश जनामा चितवनका दामोदर ढकाल, भैरहवाका मदन पराजुली, कीर्तिपुरका लबकुमार अधिकारी, गोरखाका शिवशंकर बुढाथोकी, मिसन ओभरसिज काठमाण्डौंका टेकबहादुर गुरुङ, ललितपुरका सन्तोष घिमिरे, झापाका तारानाथ भट्टराई, बाबुराम भट्टराई र चितवनका सिरिलकुमार श्रेष्ठ रहेका छन् ।
गृहमन्त्रालय र परराष्ट्रमन्त्रालयसँग समन्वयमा यस सम्बन्धि काम भईरहेको विभागले जनाएको छ ।
- कान्तिपुर


