Friday, July 13, 2012

हैटीको हैजाले सशस्त्रलाई १५ करोड घाटा

काठमाण्डौं, ३० असार । हैटी जान तयार सशस्त्र प्रहरीको शान्ति मिसनलाई राष्ट्रसंघले बीचैमा रोक्दा नेपाललाई १५ करोडभन्दा बढीको घाटा लागेको छ । हैटीमा तैनाथ नेपाली सेनाको क्याम्प वरिपरि हैजा फैलिएपछि राष्ट्रसंघले सशस्त्र प्रहरीको मिसन रोकेको थियो ।

हैटी मिसनका लागि राष्ट्रसंघले आमन्त्रण गरेपछि दुई बर्षअघि सशस्त्र प्रहरीले एपिसीलगायतका बन्दोबस्तिका सामान खरिद गरेको थियो । हैटी मिसनका लागि सशस्त्रले २५ करोड रुपैयाँका सामान किनेर पानीजहाजमार्फत हैटीतर्फ पठाईसकेको थियो । तर, त्यहीबीचमा हैटीमा हैजा फैलिएपछि नेपाली सेनाले रोग  सल्काएको आशंका भयो, आशंकाकै भरमा सशस्त्र प्रहरीको मिसन रोकिएको हो ।

हैटी पठाउन किनेको २५ करोडको सामान नेपाल फर्काउन थप ५ करोड लागेको सशस्त्रले जनाएको छ । मिसनलाई बीचैमा रोकेका कारण राष्ट्रसंघले १० करोड दिनुपर्ने सशस्त्रले माग गरेको छ भने राष्ट्रसंघले पहिलो पटक दुईलाख ९३ हजार र दोस्रो पटक एकलाख ३० हजार गरी चार लाख २३ हजार डलर त्यसबेलाको करिब साढे तीन करोड रुपैयाँ मात्र प्रदान गरेको छ । साथै हैटीको हैजाले नेपालले पाउने थप साढे ६ करोड आउनेमा पनि शंका उत्पन्न भएको छ ।
- नयाँ पत्रिका दैनिक

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।