काठमाण्डौं, २० असार । माओवादी लडाकूको मुख्यालयले दुई हजार सात सय ६४ जना लडाकूलाई सेना समायोजनमा र बाँकी तीन सय ६५ जनालाई पुर्नस्थापनामा पठाउने प्रस्ताव गरेको छ । नयाँ बन्ने महानिर्देशनालयमा यमबहादुर अधिकारी प्रतिक्षाले कर्नेलको रुपमा लडाकूका तर्फबाट नेतृत्व गर्ने छन् ।
त्यस्तै डिभिजन सहायक कमान्डरका रुपमा काम गरेका पदमबहादुर तामाङ सञ्जिव र बासुदेव घिमिरे पावेललाई लेफ्टिनेन्ट कर्नेलमा प्रस्ताव गरिएको छ । २६ जना कमान्डरलाई मेजर, ४९ जनालाई क्याप्टेन, ३० जनालाई लेफ्टिनेन्ट, २० जनालाई सुवेदार, ७५ जनालाई जमदारमा प्रस्ताव गरिएको छ ।
तीनसय २५ जनालाई सजेन्ट, तीनसय जनालाई नायक, पाँच सय २५ जनालाई लेस नायक र बाँकीलाई सिपाही लगायतमा प्रस्ताव गरिएको छ ।
समायोजनमा नजाने कमान्डरहरु -
केही सिनियर डिभिजन कमान्डर र सहायक डिभिजन कमाण्डर समायोजनमा नजाने भएका छन् । समायोजनमा नजानेहरुमा सातौ डिभिजनका कमान्डर सन्तु दराई परवाना, दोस्रोका शुकबहादुर रोका शरद, तेस्रोका धनबहादुर मास्के राजेश, छैटौका महेन्द्रबहादुर शाही प्रज्ज्वल र चौथोका तेजबहादुर वली प्रतीक रहेका छन् भने सहायक कमान्डरहरुमा पहिलो डिभिजनका हरिबहादुर श्रेष्ठ प्रमोद र रामबहादुर थापा संग्राम, पाँचौ डिभिजनबाट राजबहादुर बुढा अविनास र सातौं डिभिजनबाट जीवन बुढा रहेका छन् ।
- नयाँ पत्रिका दैनिक


