बलिउडका नम्बर वान अभिनेता सलमान खानको पछिल्लो फिल्म एक था टाइगरले पाकिस्तानमा अड्चन बेहोर्नुपरेको छ । यो फिल्मको ट्रेलरलाई पाकिस्तान सरकारले प्रतिबन्ध लगाएपछि पाकिस्तानमा यो फिल्म नै प्रतिबन्धित हुने सम्भावना बढेको छ ।
समाचार एजेन्सी पिटीआइका अनुसार पाकिस्तान विद्युतिय मिडिया नियामक बोर्डले पाकिस्तानका केबल अपरेटर्स तथा स्याटेलाइट टेलिभिजन च्यानलहरुलाई एक था टाइगरको प्रोमो प्रशारण नगर्न निर्देशन दिएको छ । यो फिल्मले पाकिस्तानी जासुसी एजेन्सी आइएसआइको छविलाई गलत ढंगले पेश गरेको भन्दै बोर्डले यस्तो निर्णय लिएको हो ।
तर फिल्मका निर्देशक कबीर खानले भने टि्वटर मार्फत आफ्नो फिल्मको बारेमा सफाइ दिँदै यो फिल्म कुनैपनि प्रकारको कट्टरवाद वा पाकिस्तानको विरोधी नरहेको बताएका छन् । उनले पाकिस्तान सेन्सर बोर्डले आगमी दिनमा यो फिल्मलाई पाकिस्तानका फिल्म हलमा प्रशारण हुन दिनेमा विश्वास व्यक्त गरेका छन् ।
स्मरण रहोस् यसअघि सैफ अली खानको फिल्म एजेंट विनोदले पनि पाकिस्तानमा प्रतिबन्ध बेहोर्नुपरको थियो । एक था टाइगरमा सलमान खान भारतीय जासुसी संस्था रअको एजेन्टको भूमिकामा छन् । जसलाई एक मिसनका रुपमा पाकिस्तानमा पठाइन्छ । यो फिल्ममा सलमानका अलवा कटरिना कैफ तथा रणविर शौरी लगायतको मूख्य भूमिका छ । एक था टाइगर आगामी अगष्ट १५ मा रिलिज हुँदैछ ।
- अनलाइन खबर



