क्वालालम्पुर, २२ असार । हरेक दिनजसो सयौं नेपाली युवाहरु पैसा कमाउने र परिवारलाई सुख दिने सपना बुन्दै मलेसिया भित्रिन्छन् । ती कतिले सोंचेभन्दा राम्रो प्रगति गरेर दौलत र सम्मान हात पारेका छन भने कतिले औशत मलेसिया बसाई टुंगाउँदै नेपाल फर्किन्छन् । ती मध्ये केही यस्ता नेपालीहरु पनि छन जसले न मलेसियामा केही गर्न सके, न नेपाल फर्किएर बुढेसकालका बाबुआमाको सहारा बन्न सके । यसरी आफैंले आफैलाई वेपत्ता बनाउने नेपालीहरुको संख्या करिव ११ सय रहेको यहाँ कार्यरत नेपाली संस्था प्रवासी नेपाली समन्वय समितिले जनाएको छ । प्रवासमा करिव १७ हजार नेपाली वेपत्ता रहेको र त्यसमध्ये ११ सय मलेसियामै रहेको समिति अध्यक्ष महेन्द्र पाण्डेय बताउँछन् ।
बर्षमा दर्जनौं यस्ता नेपालीहरु मलेसियामा हराइरहेका छन् । आखिर कहाँ जान्छन त उनीहरु ?
पिंढीमा बसेर रुँदै छोराको बाटो हेरेकी आमाको प्राण जाने बेलासम्म पनि छोरो घर पुग्दैन, कल्कलाउँदो बैंश सुम्पेर घरपरिवार र बालबच्चा स्याहार्दै वसेकी श्रीमती जोवन ढल्किने बेलासम्म श्रीमान घर पुग्दैन, अनि बुबा जिउँदै भएर पनि मरेतुल्य महसुस गरेका छोराछोरी जवान भइसक्दा पनि धेरै नेपाली युवाहरुले आफ्नो जीवन मलेसियामा गुमनाम बिताइरहेका छन् ।
तर प्रवासमा पसेको छोरो नत परिवारलाई संझिएको छ नत इष्टमित्रलाई । नै आखिर उनीहरु कहाँ छन त कसैलाई पनि पत्तो छैन । मलेसियामाबाट निस्कने हरेकजसो पत्रपत्रिकामा छोराको खोजीको लागि वावुआमा र साथीभाईले खोजिगरिदिन अनुरोध गरिरहेका छन तर उनीहरु पत्ता लागेर घर र्फकेको कहिले पनि सुन्न पाईदैन ।
पाल्पा जिल्ला गाडाँकोट गाविस वडा न ३ कागति डाँडाका राजेन्द्रप्रसाद घिमिरे रोजगारीको लागि मलेसिया आएको नौ वर्ष पुरा भयो । नौ वर्षदेखि नत उनको कसैसंग सम्पर्क छ नत घरपरिवारले नै उनलाई विर्सन सकेका छन् । आफ्नै ठाउँमा काम गरेको भएपनि केहि न केहि न हुने थियो ।
घिमिरेको परिवारको जस्तै पिडा झापा केराघारीका वडा न ६का विरवल तामाङको पनि छ । सात वर्षदेखि मलेसियामा कार्यरत रहेका उनी कहाँ र कुन अवस्थामा छन कसैलाई पनि थाहा छैन् । उनीसंगै मलेसिया आएकाहरु धेरै पटक ओहोरदोहार गरिसके तर उनको अत्तोपत्तो छैन् । दश वर्ष अगाडि मलेसिया आएका म्याग्दि अर्मन ४का सुर्यवहादुर खत्रि पाँच वर्ष देखि सम्पर्कविहीन छन् ।
तनहुँ जिल्ला खैरनीटार गाविस वडा नं. ४ त्यागन गाँउका नारायणसिंह थापा -मलेसियामा ‘अमर’ भनेर चिनिने) विगत लामो समयदेखि मलेसियामा रहँदै आएका थिए । तर ३ वर्षदेखि घरपरिवारसँग उनको सम्र्पक छैन् । परिवारले खोजविन गरिदिन मलेसियामा रहेका नेपालीहरुलाई अनुरोध गरेका छन् । उदयपुर नगरपालिका मनिगोडाका विष्णुकुमार कार्कि दुई महिना देखि सम्पर्क विहिन छन । विष्णुका दाजु दिनेश र वुवा चेतवहादुरले छोराको खोजी गरिदिन अनुरोध गरेका छन् ।
सात वर्ष अगाडि पेनाङमा रोजगारीको लागि आएका कटारी ८ उदयपुरका प्रविन तामाङ एक वर्षदेखि हराईरहेका छन् । त्यसैगरी जोहोरको प्लेनतुङमा कार्यरत धुलिखेलका समिर तामाङ एक महिनादेखि सम्पर्कविहीन छन् । हालै मात्र पाल्पा जिल्ला घर भई जोहोरको वातुपहातमा रहेका एटि एच हार्डवेयरमा कार्यरत राजेन्द्र विक हराईरहेका छन । मानसिक सन्तुलन केहि ठिक नभएको र दश दिन यतावाट हराईरहको कारण साथीभाईहरुले खोजिगरिदिन सवैसंग अनुरोध गरेका छन् । सप्तरीका साजनकुमार दास केहि महिना देखि मलेसियामा सवैसंग सम्पर्क विहिन भएपछि घरपरिवारले खोटाङमा रहेको मानवअधिकारकर्मिहरुलाई छोराको खोजी गरिदिन अनुरोध गरेकी छन् ।
प्रवासमा यसरी दैनिक जसो नेपाली श्रमिकहरु सम्पर्कविहीन हुँदा पनि राज्य भने मौन देखिन्छ । सरकारको सिवाया गैर सरकारी संस्थाहरुले पनि यस विषयमा त्यति चासो देखाएको पाईदैन । दुई चार पैसा कमाउने, यतै सुखसयलमा वस्ने तर नेपाल फर्किन नचाहाने ठूलो संख्या अहिले मलेसियामा छ । पहिचान फेर्दै, ठाउँ फेर्दै अनि गाउँका कसैले चिन्ला कि भनेर लुक्दै हिड्ने उनीहरुको दैनिकी बनेको छ । लामो समयदेखि यसरी गैरकानुनीरुपमा काम गर्दै मलेसियामा आफुले आफैंलाई बेपत्ता पारेकामध्ये केही आममाफीको मौका पारेर नेपाल फर्किएका थिए । प्रवासी नेपाली समन्वय समिति नेपालका अध्यक्ष महेन्द्र पाण्डेय भन्छन- ‘भनेजस्तो तलव नपाउनु, कुलतमा लाग्नु या घरपरिवारको दबाबका कारण धेरैजसो सम्पर्कमा आउन चाहँदैनन् ।’
- अनलाइनखबर


