काठमाण्डौ, २२ असार । आगामी विस्तारित वैठकलाई लक्षित गर्दै एकीकृत नेकपा माओवादीका तीन समूहले तलैसम्म भिन्नाभिन्नै कार्यक्रम, भेला र प्रशिक्षण चलाइरहेको तथ्य सार्वजनिक भएको छ ।
शान्ति र संबिधानको एउटै बिचारमा उनिए पनि पद र भागबण्डाका लागि प्रचण्ड, बाबुराम र नारायणकाजी गरी तीन गुटमा माओवादी नेता कार्यकर्ता बाँडिएका छन् । आगामी साउन १ गतेदेखि सुरु हुने विस्तारित वैठकलाई लक्षित गर्दै तीनै समूहले आ-आफ्नो तयारी थालेका छन् ।
तीनै पक्षले सवै जिल्लामा आ-आफ्ना पक्षका नेतालाई घोषित र अघोषित रुपमा इन्चार्ज तोकेको बताइएको छ ।
भेला र प्रशिक्षणमा बाबुराम समूहले जसको बिचार उसैको नेतृत्व हुनुपर्ने लविङ गरिरहेको छ भने नारायणकाजी समूहले माओवादी बिभाजन भएपछि माओवादी र आफ्नो पुरानो पार्टी एकता केन्द्र मसालको हैसियत बराबर भएकाले सवै भागबण्डामा ५० प्रतिशत हिस्सा हुनुपर्ने लविङ गरेको छ ।
केन्द्रमा महासचिव र सचिव सहित दुई स्थायी समिति सदस्य पद खाली छन भने राज्यसमिति, जिल्ला र स्थानीय तहसम्म धेरै पद पूर्ति गर्नुपर्ने अबस्था छ । तर प्रचण्ड भने गुटलाई रोक्ने नाममा पुन आफ्नो बर्चस्व कायम गर्ने दाउमा छन् । वैद्यहरु फुटेर गएकाले अब फेरि पार्टी फुट्न नदिन भन्दै उनले सवै गुटलाई अन्त्य गर्ने प्रस्ताव गरिरहेका छन् ।
- राजधानी दैनिक


