सिड्नी, ३० असार । अष्ट्रेलियाको पर्थमा भएको सडक दुर्घटनामा नेपाली विद्यार्थी राजेश खड्काको मृत्यु भएको छ । बिहीबार साँझ साथीको घरमा खाना खाएर फर्कर्दै गर्दा खड्काले चलाएको कार रुखमा ठोक्किएको थियो । दुर्घटनामा घाइते खड्कलाई स्थानीय जण्डोलोप अस्पताल भर्ना गरिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरे ।
पर्थवाट एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष भैरव ढकालले दिएको जानकारी अनुसार नेपालको बागलुङ बजारमा स्थायी घर भएका खड्का चार वर्षदेखि अष्ट्रेलियामा थिए । डिपेण्डेन्ट भिसामा दुई वर्ष मेलवर्नमा बसेर पर्थ गएका खड्का त्यहाँ ग्रामीण क्षेत्रको कृषि फार्ममा काम गर्थे ।
मृतक खड्काको नेपालमा रहेको आफन्तलाई घटनाबारे जानकारी गराइ सकिएको बागलुङ अष्ट्रेलियन कम्युनिटिले जानकारी दिएको छ । मृतकको शव अहिले रोयल पर्थ अस्पतालमा राखिएको छ । शवलाई नेपाल पठाउने वा यही दाहसंस्कार गर्नेबारेमा बागलुङ अष्ट्रेलियन कम्युनिटिले आफन्तसँग छलफल गरिरहेको छ ।
घटनाको थप अनुसन्धानपछि मात्र शव मृतकका आफन्तलाई बुझाउने प्रहरीले बताएको छ । गएको वर्ष पर्थमा भएको सडक दुर्घटनामा अमर श्रेष्ठको मृत्यु भएको थियो ।
- नागरिक


