Friday, July 6, 2012

नेतृत्व नसच्चिए आदिवासी जनजातिले नयाँ पार्टी खोल्ने

काठमाडौं, २२ असार । विभिन्न दलमा आबद्ध आदिवासी जनजाति नेताहरूले आफूहरूले पार्टीमा अन्तरसंघर्ष जारी राखेको जनाउँदै नेतृत्व नसच्चिए पार्टी परित्याग गर्ने बताएका छन् ।

'ब्राह्मणवादीहरूले नेतृत्व गर्ने पार्टीबाट आदिवासी, जनजातिको पहिचान स्थापना हुन सम्भव छैन,' राजधानीमा बुधबारदेखि सुरु आदिवासी, जनजाति सम्मेलनमा कांग्रेसका पूर्वसभासद् इन्द्रबहादुर गुरुङले भने, 'आदिवासी जनजातिहरूको तर्फबाट कांग्रेसलाई ११ बुँदे माग पेश गरेका छौं । असारभित्र माग सम्बोधन भएन भने कांग्रेसमा बस्नुको औचित्य सकिन्छ ।' 

आदिवासी, जनजाति समुदायका अगुवाहरूले उत्पीडित समुदायको पक्षमा लड्ने छुट्टै राजनीतिक शक्ति आवश्यक रहेको विचार राखे । 'दलहरूले आदिवासी, जनजातिलाई अधिकार दिएनन् । आदिवासी, जनजाति र उत्पीडित समुदायको मुद्दालाई उपेक्षा गरे,' अगुवाहरूले भने, 'आदिवासी जनजातिको मात्र नभई उत्पीडित समुदायको नेतृत्वमा संघीय, गणतन्त्र र समावेशी पक्षधरको नयाँ राजनीतिक दल गठन गर्नुपर्छ ।' सम्मेलनमा चैतन्य सुब्बा, कृष्ण भट्टचन लगायतले अवधारणापत्र पेस गरेका थिए । आदिवासी जनजाति महासंघका पूर्वमहासविच ओम गुरुङले भने, 'आदिवासी जनजातिहरूको छुट्टै राजनीतिक दल आवश्यक छ ।'

राजनीतिक दल गठन गर्दा सैद्धान्तिक अडान, पार्टी संरचना लगायत विषयबारे व्यापक छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने गुरूङले बताए । 'सबै जातीय प्रदेशमा मोर्चा बनाएर केन्द्रमा युनियन संरचनाको पार्टी खोल्नुपर्छ,' महासंघका पूर्वमहासचिव बालकृष्ण माबुहाङले भने । जनजाति महासंघका अर्का पूर्वमहासचिव परशुराम तामाङले आदिवासी, जनजाति लगायत उत्पीडित समुदायलाई केन्द्रित गरेर दल खोल्दा स्पष्ट सैद्धान्तिक अवधारणा आवश्यक पर्ने बताए । सम्मेलनले अवधारणापत्रमाथि समूहगत छलफल गरी आदिवासी जनजातिहरूको भावी कार्यदिशाबारे घोषणापत्र जारी गर्ने जनाएको छ ।
- नागरिक 

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।